सरकारको ६ महिना उपलब्धिमूलकः राजीव खत्री
सांसद खत्रीले ६ महिनाको छोटो अवधिमा ठूला संरचना निर्माण नभए पनि सरकारले भविष्यका लागि आवश्यक आधार तयार पारिसकेको बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले वर्तमान सरकार गठन भएको ६ महिनाको अवधिमा सुशासन र विकासका लागि बलियो आधार तयार भएको दाबी गरेका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आलोचकहरूले भन्दै आएको ‘काम नभएको’ भन्ने आरोपलाई खण्डन गर्दै सरकार सही दिशामा रहेको जिकिर गरेका हुन् । सांसद खत्रीले ६ महिनाको छोटो अवधिमा ठूला संरचना निर्माण नभए पनि सरकारले भविष्यका लागि आवश्यक आधार तयार पारिसकेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्र भक्तपुर-२ को उदाहरण दिँदै ९० करोड बढीको बजेटमार्फत सडक पूर्वाधार, पुल निर्माण र सांस्कृतिक सम्पदाको संरक्षणमा उल्लेख्य काम भइरहेको जानकारी दिए ।
उनले ६ महिनाको अवधिमा सरकारले भ्रष्टाचारको कुनै काण्ड नघटाएको दाबी गर्दै यो वर्ष सुशासनको आधार वर्ष भएको प्रस्ट पारे । सहकारी ठगहरूको पक्राउ र कारबाहीका विषयमा उठिरहेको प्रश्नमा खत्रीले तटस्थ धारणा राखे । उनले जिबी राईको विषय मात्र नभई अन्य ठगहरूलाई पनि पक्राउ गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री र सरकारले कसैलाई जोगाउने काम नगरेको जिकिर गर्दै रवि लामिछानेको सन्दर्भमा देखिएको कानुनी प्रक्रिया ‘कोर्स करेक्सन’ भएको टिप्पणी गरे ।