हवाई दुर्घटनामा मृत्यु भएकालाई डेढ लाख अमेरिकी डलर क्षतिपूर्ति दिने व्यवस्था गर्न सांसदको प्रस्ताव, मन्त्री भन्छन्, ‘सकिँदैन’
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विधायन व्यवस्थापन समितिमा भएको दफावार छलफलका क्रममा उनले उक्त माग गरेका हुन् ।
काठमाडौं । नेपाली काँग्रेसका सांसद खम्मबहादुर खातीले आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएमा १ लाख ५० हजार अमेरिकी डलर क्षतिपूर्ति दिने व्यवस्था गर्न माग गरेका छन् । आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विधायन व्यवस्थापन समितिमा भएको दफावार छलफलका क्रममा उनले उक्त माग गरेका हुन् ।
प्रस्तावित विधेयकमा हवाई दुर्घटनामा मृत्यु हुने यात्रुका परिवारलाई उपलब्ध गराइने क्षतिपूर्तिको रकम १ लाख अमेरिकी डलर उपलब्ध गराउने उल्लेख छ । सांसद खातीले सो रकम बढाएर १ लाख ५० हजार अमेरिकी डलर पुर्याउन प्रस्ताव गरे । क्षतिपूर्तिको रकम निर्धारण गर्दा अन्तर्राष्ट्रिय अभ्यास र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिलाई समेत ध्यान दिनुपर्ने उनको भनाई छ । उनले क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई प्रत्येक पाँच वर्षमा पुनरावलोकन गर्ने प्रावधान राख्नुपर्ने सुझाव पनि दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले भने क्षतिपूर्तिको रकम एकैपटक ठूलो मात्रामा बढाउन नहुने बताए । उनले क्षतिपूर्तिको रकम बढाउँदा हवाई टिकटको मूल्यसमेत बढ्ने भएकोले रकम बढाउँदा सावधानी अपनाउनुपर्ने बताए । हाल आन्तरिक हवाई सेवामा प्रचलित क्षतिपूर्तिको रकम करिब २० हजार अमेरिकी डलर रहेको उल्लेख गर्दै उनले प्रस्तावित १ लाख डलरको व्यवस्था नै विद्यमान अभ्यासभन्दा बढी भएको बताए ।
अन्तर्राष्ट्रिय अभ्यासको न्यूनतम बिन्दुबाट सुरु गर्न खोजिएको उनको भनाई छ । क्षतिपूर्तिको रकम बढाउँदा बीमा प्रिमियममा पर्ने प्रभाव र त्यसले टिकट मूल्यमा पार्न सक्ने असरलाई ध्यान दिनुपर्ने उनले बताए । विधेयकमा हवाई दुर्घटनामा यात्रु वा तेस्रो पक्षको मृत्यु भएमा मृतकका नजिकका हकवालालाई एकमुष्ट १ लाख अमेरिकी डलर बराबरको रकम क्षतिपूर्तिबापत उपलब्ध गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तै, मृत्यु भएपछि उक्त रकम तत्काल उपलब्ध गराउन नसकेमा मृतकको शव परिवारलाई हस्तान्तरण गर्दा मृत्यु संस्कारका लागि वायुसेवा कम्पनीले कम्तीमा ५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख छ । यसरी उपलब्ध गराइएको रकम पछि भुक्तानी गरिने क्षतिपूर्तिबाट कट्टा गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ । साथै क्षतिपूर्तिको रकम तत्काल नदिएमा वायुसेवा कम्पनीलाई जरिवाना गर्ने व्यवस्था समेत राखिएको छ ।