रिज लाइन इनर्जीले घोषणा गर्यो १०.५३% नगद लाभांश, बुक क्लोज कहिले ?
कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले करसहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले करसहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई कुल १२ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १७ गते कुपण्डोल ब्यांकेटमा साधारण सभा बोलाएको छ । सभा बिहान १० बजेदेखि सुरु हुनेछ । साधारण सभामा लाभांश वितरण गर्ने प्रस्तावका साथै दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
त्यस्तै, १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण वा बिक्री गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार असोज २२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।