संस्थालाई कमाइ खाने भाँडो नबनाऔँ: सांसद राना

रानाकाअनुसार धेरैजसो सरकारी संस्थानहरूमा काम गर्ने उद्देश्यले भन्दा पनि पद र सुविधा प्राप्त गर्ने(नियुक्ति खाने) प्रवृत्ति हाबी छ । जसका कारण सक्षम व्यक्तिहरूले काम गर्ने वातावरण पाउन सकेका छैनन् ।

काठमााडौं । नेपाली काँग्रेसका सांसद सन्दीप रानाले नेपाल वायुसेवा निगमको पछिल्लो निराशाजनक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारी संस्थानहरू ‘नियुक्ति खाने’ थलोका रूपमा परिणत भएको आरोप लगाएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निगमको रुग्ण अवस्था र सञ्चालन मोडालिटीबारे सरकारको स्पष्ट दृष्टिकोण नरहेको भन्दै आलोचना गरेका हुन् ।

सांसद रानाले निगमको व्यावसायिक कार्यक्षमतामाथि प्रश्न उठाउँदै नाफा कमाउन नसक्ने संस्थालाई राष्ट्रिय गौरवका रूपमा मात्रै जोगाइराख्नु चुनौतीपूर्ण रहेको बताए । उनले नेपालका सरकारी संस्थानहरूमा व्याप्त ‘नियुक्ति र भागबण्डा’ को संस्कारप्रति कटाक्ष गर्दै कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वको मानसिकतामा नै खोट रहेको जिकिर गरे । रानाकाअनुसार धेरैजसो सरकारी संस्थानहरूमा काम गर्ने उद्देश्यले भन्दा पनि पद र सुविधा प्राप्त गर्ने(नियुक्ति खाने) प्रवृत्ति हाबी छ । जसका कारण सक्षम व्यक्तिहरूले काम गर्ने वातावरण पाउन सकेका छैनन् । 

सांसद रानाले पीपीपी मोडालिटीमा लैजाने सरकारी योजनाबारे पनि सचेत गराए । उनले नेपालमा सिमित उद्योगीहरूको हालिमुहाली रहेको तर्फ संकेत गर्दै पीपीपी मोडालिटी कार्यान्वयन गर्दा पारदर्शिता र प्रतिष्पर्धालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । साथै उनले नियुक्तिको परम्परागत सरकारी मापदण्ड भन्दा बाहिर गएर दक्ष र व्यावसायिक व्यक्तिलाई अवसर दिने वातावरण सिर्जना नगरेसम्म यस्ता संस्थानहरूको कायापलट हुन नसक्ने दाबी गरे ।