जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई

सरकारले प्रतिपक्षको मागलाई अपमान नभई सम्मानपूर्वक लिने वातावरण बनाउन सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराए । सरकारलाई आफ्नो खुट्टामा आफैं बञ्चरो नहान्न र सरकार आफैं नढाल्न शुभकामना दिए ।

काठमााडौं ।  श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दाबल्दा प्रश्नहरूको उत्तर दिन चुकेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताका जिज्ञासाको जवाफ प्राप्त नभएको बताएका हुन् ।

उनले संसदबाट‘’रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरे । सांसद राईले संसदको यो अधिवेशनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले प्रतिपक्षले उठाउँदै आएका जनसरोकारका विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरे । राजनीतिशास्त्रको विद्यार्थीको हैसियतले ऐतिहासिक सन्दर्भ कोट्याउँदै राईले १५ साल र ६४ सालको चुनावी नतिजासँग तुलना गर्दै वर्तमान सत्ता समीकरणप्रति व्यङ्ग्य गरे । उनले सत्ता जोगाउनकै लागि मात्र केन्द्रित नभई ५ वर्ष सरकार सञ्चालन गर्न र सुशासन कायम गर्न सत्तापक्षलाई आग्रह गरे । 

 उनले भ्रष्टाचार र दलहरूको कार्यशैलीका कारण विगतमा देखिएका आन्दोलन र विद्रोहबाट शिक्षा लिन पनि सरकारलाई सचेत गराए । उनले अर्को अधिवेशनमा सरकारले प्रतिपक्षको मागलाई अपमान नभई सम्मानपूर्वक लिने वातावरण बनाउन सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराए । सरकारलाई आफ्नो खुट्टामा आफैं बञ्चरो नहान्न र सरकार आफैं नढाल्न शुभकामना दिए ।