एक रुपैयाँका ४० करोड सिक्का बनाउँदै राष्ट्र बैंक, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

इच्छुक पूर्वयोग्य कम्पनीले नोभेम्बर ३, २०२६ को मध्याह्न १२ बजेसम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा सिलबन्दी प्रस्ताव बुझाउनुपर्नेछ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरका ४० करोड थान चलनचल्तीका सिक्का उत्पादन तथा आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यसअघि पूर्वयोग्यता प्राप्त गरेका विदेशी कम्पनीबाट सिलबन्दी प्रस्ताव माग गरेको हो ।

बोलपत्रमा राष्ट्र बैंकले मार्च १२, २०२६ मा प्रकाशित पूर्वयोग्यता सूचीमा परेका कम्पनीलाई मात्रै सहभागी हुन पाउने व्यवस्था गरेको छ । इच्छुक पूर्वयोग्य कम्पनीले नोभेम्बर ३, २०२६ को मध्याह्न १२ बजेसम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा सिलबन्दी प्रस्ताव बुझाउनुपर्नेछ । प्राप्त प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिनेछ ।

खरिद प्रक्रिया एक चरणको दुई खाम प्रणालीबाट हुनेछ । कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखी दुवैलाई अर्को एउटै खामभित्र राखेर पेस गर्नुपर्नेछ । समयसीमा समाप्त भएपछि प्राप्त प्रस्ताव स्वीकार गरिने छैन ।

बोलपत्र कागजात नोभेम्बर २, २०२६ सम्म खरिद गर्न सकिनेछ । त्यसका लागि नेपाली रुपैयाँ २० हजार, अमेरिकी डलर १३१ वा युरो ११५ फिर्ता नहुने शुल्क तोकिएको छ । बोलपत्रपूर्व बैठक भने अक्टोबर १५ गते मध्याह्न १२ बजे मुद्रा व्यवस्थापन विभागमा हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलपत्र खोलिएको मितिदेखि प्रस्ताव १२० दिनसम्म मान्य हुनुपर्नेछ । सहभागी कम्पनीले न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर वा सो बराबरको स्वीकार्य मुद्रामा जमानत पेस गर्नुपर्नेछ । उक्त जमानतको म्याद अप्रिल २, २०२७ सम्म कायम हुनुपर्नेछ ।

राष्ट्र बैंकले उत्पादन गर्न लागेको सिक्काको कुल अंकित मूल्य ४० करोड रुपैयाँ हुनेछ । तर यो रकम सिक्का उत्पादन तथा आपूर्तिका लागि लाग्ने खरिद लागत भने होइन । राष्ट्र बैंकले जारी गरेको सूचनामा सिक्का उत्पादनको अनुमानित खरिद लागत भने खुलाइएको छैन ।