महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल
काठमाडौंको खुलामञ्चमा आईतवारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन र नयाँ पुस्ताको आकाङ्क्क्षा सम्बोधन गर्न काँग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताएकी हुन् ।
काठमाडौं । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ ऐतिहासिक महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम मात्र नभई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताएकी छिन् ।
काठमाडौंको खुलामञ्चमा आईतवारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन र नयाँ पुस्ताको आकाङ्क्क्षा सम्बोधन गर्न काँग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताएकी हुन् । उपसभापति भुसालले काँग्रेस २००४ सालदेखि निरन्तर लोकतन्त्रका लागि सङ्घर्ष गर्दै आएको ऐतिहासिक शक्ति भएकाले वर्तमान र भविष्यको स्पष्ट मार्गचित्र कोर्ने दायित्व यसै महाधिवेशनको काँधमा रहेको स्पष्ट पारिन् । उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझ बढी समावेशी र संस्थागत बनाउन तथा केन्द्रिय तहका हरेक निर्णयलाई पारदर्शी बनाएर तल्लो तहसम्म पुर्याउन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरिन् । मुलुकको जनसङ्ख्यामा ४१ प्रतिशत हिस्सा ओगट्ने नयाँ ‘जेन-जी’ पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाज खोजिरहेको उल्लेख गर्दै भुसालले उनीहरूको सपना र भरोसालाई सम्बोधन गर्नेगरी काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिइन् ।
संविधान, कानूनी शासन र मानवअधिकारविपरित हुने कुनैपनि अलोकतान्त्रिक अभ्यास कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्दै उनले वीपी कोईरालाको लोकतान्त्रिक समाजवाद र राष्ट्रियताको सिद्धान्तलाई महाधिवेशनको मूल मर्म बनाउनुपर्ने बताइन् ।
मुलुकको ५१ प्रतिशत हिस्सा ओगटेका महिलाहरूले आन्दोलन, निर्वाचन र समाज सञ्चालनमा आफ्नो सामथ्र्य प्रमाणित गरिसकेको स्मरण गराउँदै भुसालले अब पार्टी र राज्यको नीति निर्माण तहमा महिलाहरूको निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने माग गरिन् ।