दसैंका लागि असोज २३ देखि अग्रिम बस टिकट खुल्ने, लामो दूरीका बसमा दुई चालक अनिवार्य
दसैंमा काठमाडौं उपत्यकाबाट मात्रै १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ ।
काठमाडौं । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायको उच्चस्तरीय बैठकले असोज २३ देखि अग्रिम टिकट बिक्री खुला गर्ने निर्णय गरेको हो ।
दसैंमा काठमाडौं उपत्यकाबाट मात्रै १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ । यात्रुको चाप बढ्ने भएपछि अन्तिम समयमा टिकट अभाव, काउन्टरमा भिडभाड तथा तोकिएको भन्दा बढी भाडा असुलीजस्ता समस्या हुन नदिन सरकारले यातायात व्यवस्थापनमा विशेष तयारी थालेको हो ।
विभागले यातायात व्यवसायी, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिसँग छलफल गरी चाडपर्वको यातायात व्यवस्थापनसम्बन्धी निर्णय गरेको हो ।
चाडपर्वको यात्रालाई सुरक्षित बनाउन लामो दूरीका सार्वजनिक सवारीमा दुई जना चालक अनिवार्य गरिने भएको छ । एउटै चालकले लामो समयसम्म लगातार सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले चालक व्यवस्थापनमा कडाइ गर्न लागिएको विभागले जनाएको छ ।
अग्रिम टिकट बिक्रीलाई व्यवस्थित बनाउन टिकट खरिद गर्ने यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेखमा राख्नुपर्ने व्यवस्था गरिएको छ । आपत्कालीन अवस्था वा यात्रुसम्बन्धी विवरण आवश्यक परेका बेला सहज रूपमा पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
टिकट बिक्री गर्ने काउन्टरमा कार्यरत कर्मचारीलाई पनि सजिलै पहिचान गर्न सकिने व्यवस्था गरिने भएको छ । कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र तोकिएको पोसाक प्रयोग गर्नुपर्नेछ ।
मनपरी भाडा र कालोबजारीमा निगरानी
चाडपर्वको मागलाई देखाएर तोकिएकोभन्दा बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमाथि निगरानी बढाइने भएको छ । यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।
यात्राका क्रममा सडक अवरुद्ध, दुर्घटना वा अन्य समस्या आएमा तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने भएको छ । केन्द्रमार्फत यातायातसँग सम्बन्धित सूचना सम्बन्धित निकायसम्म छिटो पुर्याउने व्यवस्था गरिनेछ ।
बसमा प्राथमिक उपचारदेखि पिउने पानीसम्म
लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीमा यात्रुको आधारभूत सुरक्षाका लागि प्राथमिक उपचार सामग्री, आगो नियन्त्रण गर्ने उपकरण र पिउने पानी अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने भएको छ ।
दसैं–तिहारको समयमा नयाँ बसपार्कसहित विभिन्न टिकट काउन्टरमा यात्रुको चाप बढ्ने भएकाले सुरक्षाकर्मीको परिचालनसमेत बढाइने भएको छ । काउन्टरमा यात्रुको भिड व्यवस्थित गर्न तथा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्रिय बनाइनेछ ।
यातायात व्यवसायी तथा श्रमिक पक्षले पनि चाडपर्वमा यात्रुको आवागमन सहज बनाउन सरकारी निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । असोज २३ देखि सुरु हुने अग्रिम टिकट बुकिङले दसैंमा घर जाने यात्रुलाई अन्तिम समयमा टिकट खोज्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ । सरकारले यात्रुलाई आधिकारिक काउन्टर वा मान्य माध्यमबाट मात्रै टिकट खरिद गर्न आग्रह गरेको छ ।