राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

प्रतिवेदन पेस गर्ने क्रममा आयोगका अध्यक्ष विश्वकर्माले आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विभिन्न काम, दलित समुदायको हक, अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा भएका गतिविधि र आयोगका आगामी प्राथमिकताबारे जानकारी गराएका थिए।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

प्रतिवेदन पेस गर्ने क्रममा आयोगका अध्यक्ष विश्वकर्माले आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विभिन्न काम, दलित समुदायको हक, अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा भएका गतिविधि र आयोगका आगामी प्राथमिकताबारे जानकारी गराएका थिए ।

राष्ट्रिय दलित आयोगले दलित समुदायको संवैधानिक तथा कानुनी अधिकारको संरक्षण, प्रवर्द्धन र कार्यान्वयनका लागि सरकारलाई आवश्यक सुझाव तथा सिफारिस गर्दै आएको छ । आयोगले दलित समुदायमाथि हुने विभेद, छुवाछूत तथा सामाजिक असमानता अन्त्यका लागि नीतिगत र संस्थागत सुधारमा समेत जोड दिँदै आएको छ ।

वार्षिक प्रतिवेदनमा आयोगले आफ्नो कार्यसम्पादनका क्रममा गरेका गतिविधि, उपलब्धि तथा देखिएका चुनौती र दलित समुदायको अधिकार सुनिश्चित गर्न आगामी दिनमा चाल्नुपर्ने कदमका विषय समेटिएको बताइएको छ ।

संविधानले राष्ट्रिय दलित आयोगलाई दलित समुदायको हकहितको संरक्षण तथा प्रवर्द्धनका लागि महत्वपूर्ण संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ । आयोगले आफ्नो वार्षिक प्रतिवेदनमार्फत दलित समुदायको अवस्था र अधिकार कार्यान्वयनको अवस्थाबारे राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।