चोलेन्द्रसहित उनीनिकट व्यक्तिको घरमा सम्पत्ति शुद्धीकरणको छापा
विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबराका भाइ प्रभुशमशेर जबरा, ज्वाइँ नवीन बस्नेत तथा पूर्वन्यायाधीश नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा समेत छापा मारेको हो ।
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका नातेदार तथा निकटस्थहरूको घरमा एकैपटक छापा मारेको छ । गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणको आशंकामा विभागले जबरासहित उनका नातेदार, निकटस्थ तथा पूर्वन्यायाधीशहरूको निवासमा एकसाथ खानतलासी गरेको हो ।
विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबराका भाइ प्रभुशमशेर जबरा, ज्वाइँ नवीन बस्नेत तथा पूर्वन्यायाधीश नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा समेत छापा मारेको हो । उनीहरूको सम्पत्ति तथा आर्थिक कारोबारसँग सम्बन्धित कागजात र विवरण अनुसन्धानका क्रममा खोजी गरिएको विभागले जनाएको छ ।
जबरासहित सम्बन्धित व्यक्तिहरूमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको तथा त्यसलाई शुद्धीकरण गरेको आशंकामा अनुसन्धान अघि बढाइएको हो ।
यसअघि केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई उनकै निवासबाट मध्यराति नियन्त्रणमा लिएको थियो । उनलाई करिब १२ घण्टापछि रिहा गरिएको थियो ।