जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल
महासचिव पोखरेलले नेकपा एमालेले विगतमा गरेका सडक, पुल, भवन निर्माण र सामाजिक सुरक्षा भत्ताजस्ता गौरवपूर्ण कार्यहरूको चर्चा गरे पनि जनताको बदलिँदो मनोविज्ञान बुझ्न चुकेको स्वीकार गरे ।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परम्परागत राजनीतिक दलहरूप्रति नागरिकमा बढ्दो वितृष्णाको मुख्य कारण समाजमा मौलाएको उपभोक्तावादी प्रवृत्ति र आम्दानी-खर्चबीचको खाडल भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विकासका भौतिक पूर्वाधार मात्रै जनताको मत जित्न पर्याप्त नहुने भन्दै वामपन्थी आन्दोलनलाई नयाँ वैचारिक धरातलमा पुनर्गठित गर्नुपर्नेमा जोड दिएका हुन् ।
महासचिव पोखरेलले नेकपा एमालेले विगतमा गरेका सडक, पुल, भवन निर्माण र सामाजिक सुरक्षा भत्ताजस्ता गौरवपूर्ण कार्यहरूको चर्चा गरे पनि जनताको बदलिँदो मनोविज्ञान बुझ्न चुकेको स्वीकार गरे । उनकाअनुसार आधुनिक समाजमा पूर्वाधार विकासले निम्त्याएको उपभोक्तावाद चरम अवस्थामा पुगेको छ कक। यसले नागरिकको खर्च गर्ने आकांक्षा बढाए पनि आम्दानीको स्रोत सोही अनुपातमा बढ्न नसक्दा समाजमा आर्थिक असन्तुलन पैदा भएको छ ।
वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्न इतिहासको गौरवगाथाबाट शिक्षा लिँदै वर्तमानका चुनौतीलाई सम्बोधन गर्नेगरी वैचारिक संश्लेषण आवश्यक रहेको उनको तर्क छ । आन्दोलनको ध्रुवीकरण र वैचारिक पुनर्गठन नै भविष्यको राजनीतिक यात्राको मुख्य आधारशिला बन्नुपर्नेमा उनले जोड दिए । महासचिव पोखरेलले राजनीतिक दलहरूले केवल भौतिक विकासमा मात्र केन्द्रित नभई नागरिकको बदलिँदो जीवनशैली र आर्थिक मनोविज्ञानलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।