बैंकबाटै बिमा, सेयर र ब्रोकरेज सेवा दिने मोडालिटी अध्ययन गर्न विज्ञ समिति गठन

सरकारले बैंकका शाखामार्फत बिमा, सेयर पोर्टफोलियो व्यवस्थापन र ब्रोकरेज सेवा उपलब्ध गराउने सम्भावनाबारे अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ ।

काठमाडौं । सरकारले बैंकका शाखामार्फत बिमा, सेयर पोर्टफोलियो व्यवस्थापन र ब्रोकरेज सेवा उपलब्ध गराउने सम्भावनाबारे अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वसल्लाहकार डा. सञ्जय आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । पाँचवर्षे ‘वित्तीय क्षेत्र विकास रणनीति’ कार्यान्वयन गर्ने क्रममा अर्थमन्त्रीस्तरीय निर्णयबाट समिति गठन गरिएको हो ।

ग्रामीण क्षेत्रमा बैंकका शाखा पुगे पनि बिमा तथा धितोपत्रसम्बन्धी सेवा पर्याप्त रूपमा विस्तार हुन नसकेको र छुट्टाछुट्टै शाखा सञ्चालन गर्दा लागत बढ्ने भएकाले बैंकमार्फतै एकीकृत वित्तीय सेवा दिने अवधारणामा अध्ययन भइरहेको छ । समितिले विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई बैंकमार्फत बिमासँगै पोर्टफोलियो व्यवस्थापन र ब्रोकरेज सेवा उपलब्ध गराउने सम्भावनाबारे अध्ययन गर्नेछ । अनलाइन ट्रेडिङ प्रणाली (टीएमएस) प्रयोग गर्न कठिनाइ हुने लगानीकर्तालाई बैंककै माध्यमबाट सेयर बजारसम्बन्धी सेवा उपलब्ध गराउने विषय पनि अध्ययनमा समेटिएको छ ।

त्यस्तै, ग्रामीण क्षेत्रमा कर्जा प्रवाह बढाउन उद्यमशीलता तालिमसँगै कर्जा उपलब्ध गराउने मोडालिटी तयार गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ ।

समितिमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल तथा विज्ञ सदस्य मौसमी श्रेष्ठलगायत रहेका छन् । समितिको पहिलो बैठक गत साउन २७ गते बसेको थियो ।

यसैबीच, वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिले बचतकर्तामाथि परेको असर न्यूनीकरण गर्न मुद्दती निक्षेपको ब्याजदर र मुद्रास्फीतिबीचको अवस्थाबारे अध्ययन गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

ग्राहक सेवा सहज बनाउन नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल बिमा प्राधिकरणलाई समेत निर्देशन दिइएको छ । बैंकिङ सेवा लिँदा धेरै कागजातमा हस्ताक्षर गर्नुपर्ने झन्झट घटाउन तथा केन्द्रीकृत ग्राहक पहिचान प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि भनिएको छ ।