शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले विश्वव्यापी रूपमा भइरहेको तिब्र परिवर्तनलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष सुधारको खाँचो रहेको बताए ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई अझ बढी व्यावहारिक र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन् । शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई परीक्षा केन्द्रित नभई राष्ट्रप्रति जिम्मेवार र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार गर्नुपर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले विश्वव्यापी रूपमा भइरहेको तिब्र परिवर्तनलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष सुधारको खाँचो रहेको बताए । शिक्षालाई केवल सैद्धान्तिक ज्ञान आर्जन वा राम्रो अङ्क ल्याउने माध्यमका रूपमा मात्र नबुझ्न उनले आग्रह गरे । उनले विद्यालय स्तरदेखि नै विद्यार्थीमा राष्ट्रियताको भावना र सामाजिक मूल्य मान्यताको विकास गराउन सरोकारवालाहरूले ध्यान दिनुपर्ने उल्लेख गरे ।
विगतका उपलब्धिहरूलाई जग बसाल्दै आगामी दिनमा नीति निर्माता, शिक्षक र अभिभावकले समन्वयात्मक भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।