एनआरएन इन्फ्रास्ट्रक्चरले २ वटा जलविद्युत र एउटा उद्योगमा १ अर्ब ३० करोड लगानी गर्ने

कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले दुधकोशी–२ जलविद्युत आयोजना, छुजुङ खोला जलविद्युत आयोजना र अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा लगानी गर्ने निर्णय गरेको हो ।

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत आयोजना र एक केबल्स उद्योगमा १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले दुधकोशी–२ जलविद्युत आयोजना, छुजुङ खोला जलविद्युत आयोजना र अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले सोलुखुम्बुमा प्रवर्द्धन भइरहेको ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडले प्रवर्द्धन गरिरहेको उक्त आयोजनामा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड कित्ता सेयर खरिद गर्नेछ ।

त्यस्तै, सानिगार्ड ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले उक्त आयोजनामा प्रतिकित्ता १०० रुपैयाँका दरले २० लाख कित्ता सेयर खरिद गर्नेछ ।

यसैगरी, कम्पनीले मोरङस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको छ । उक्त रकमबाट कम्पनीले उद्योगको २ लाख ८५ हजार कित्ता सेयर खरिद गर्नेछ ।

तीनवटै क्षेत्रमा प्रस्तावित लगानीमध्ये दुधकोशी–२ जलविद्युत आयोजनामा सबैभन्दा बढी १ अर्ब रुपैयाँ छुट्याइएको छ । छुजुङ खोला जलविद्युत आयोजनामा २० करोड रुपैयाँ र केबल्स उद्योगमा करिब १० करोड रुपैयाँ लगानी गर्ने कम्पनीको योजना छ ।