कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, २.१०५३ प्रतिशत नगद लाभांश पारित

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ ।

काठमाडौँ । कुमारी बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको साधारणसभा बुधबार असोज २८ गते काठमाडौंको सुर्वण शमशेर सडकस्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २.१०५३ प्रतिशतले हुन आउने ५५ करोड २१ लाख २३ हजार ३९६.६३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ । सोही सभाले बैंकका सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८३/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको जनाएको छ । हाल बैंकले देशभरका २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गरिरहेको छ ।