विदेशी विनिमय सञ्चिति ४० खर्ब नाघ्यो, २०.९ महिनाको वस्तु आयात धान्न पर्याप्त
त्यस्तै, कुल आयातसँगको अनुपात १६३.४ प्रतिशतबाट घटेर १४८.५ प्रतिशत कायम भएको छ भने विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.८ प्रतिशतबाट बढेर ४४.९ प्रतिशत पुगेको छ ।
काठमाडौँ । नेपालको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको भदौ मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार मुलुकको कूल विनियमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ बराबर पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको सञ्चिति भदौ मसान्तमा बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा सञ्चिति ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ४ प्रतिशतले बढेर ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ कायम भएको छ । भदौ मसान्तको कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
२०८३ भदौ मसान्तमा विदेशी विनिमय सञ्चिति र कुल गार्हस्थ्य उत्पादनको अनुपात ६१.६ प्रतिशत पुगेको छ । असार मसान्तमा यस्तो अनुपात ५९.१ प्रतिशत थियो । त्यस्तै, कुल आयातसँगको अनुपात १६३.४ प्रतिशतबाट घटेर १४८.५ प्रतिशत कायम भएको छ भने विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.८ प्रतिशतबाट बढेर ४४.९ प्रतिशत पुगेको छ ।