दसैँमा तीन दिन बन्चरेडाँडा ल्यान्डफिल साइट बन्द हुने
महानगरपालिकाले सम्पूर्ण उपत्यकावासीलाई यस अवधिमा आफ्नो घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोरमैलालाई सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार तथा खुला स्थानमा जथाभाबी नफाल्न हार्दिक अनुरोध गरेको छ ।
काठमाडौँ । बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने भएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै आगामी कार्तिक महिनाको १ गते, ३ गते र ४ गते फोहोर विसर्जन कार्य बन्द रहने जानकारी गराएको हो ।
महानगरका अनुसार दशैंको बिदा पर्ने ती तोकिएका तीन दिनबाहेक अन्य दिनहरूमा भने ल्यान्डफिल साइटमा फोहोरमैला विसर्जनको कार्य साबिक झैं नियमित रूपमा सञ्चालन हुनेछ । ल्यान्डफिल साइट बन्द रहने छोटो अवधिमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै महानगरले पूर्वतयारी स्वरूप नागरिकहरूलाई सचेत गराएको छ ।
महानगरपालिकाले सम्पूर्ण उपत्यकावासीलाई यस अवधिमा आफ्नो घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोरमैलालाई सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार तथा खुला स्थानमा जथाभाबी नफाल्न हार्दिक अनुरोध गरेको छ । फोहोर उठ्ने नियमित तालिका प्रभावित हुने भएकाले उक्त दिनहरूमा उत्पादित फोहोरलाई सुरक्षित रूपमा आफ्नै परिसरमा राख्न आग्रह गरिएको छ ।