दसैँमा शाकाहारीले के खाने ? स्वादिला परिकारका यी विकल्प

शाकाहारीहरूले पनि घरमै उपलब्ध सामग्रीबाट स्वादिष्ट र पौष्टिक विभिन्न परिकार बनाएर दसैँको खानालाई विशेष बनाउन सक्छन् ।

ठमाडौँ । दसैँ भन्नेबित्तिकै हाम्रो मनमा रमाइलो गर्ने, पारिवारिक भेटघाट गर्ने र मासुका विभिन्न परिकार बनाएर खाने कुरा आउँछ । दसैँमा घरमा आफन्त र साथीभाइ जम्मा हुँदा मासुका परिकारले विशेष स्थान पाउने गर्छ । तर माछा–मासु नखाने शाकाहारीहरूको मनमा भने प्रश्न आउन सक्छ यो दसैँमा के बनाएर खाने होला ?

मासु नखाँदैमा दसैँको खान्कीमा स्वादको कमी हुनुपर्छ भन्ने छैन । शाकाहारीहरूले पनि घरमै उपलब्ध सामग्रीबाट स्वादिष्ट र पौष्टिक विभिन्न परिकार बनाएर दसैँको खानालाई विशेष बनाउन सक्छन् । तरकारीदेखि मिठाईसम्मका यस्ता परिकारले शाकाहारीको दसैँको स्वादलाई अझ रमाइलो बनाउन सक्छ ।

दसैँमा खान सकिने केही स्वादिला शाकाहारी परिकार यस्ता छन्–

पनिर

दसैँमा शाकाहारीको पहिलो रोजाइमध्ये पनिर पनि एक हो । दूधबाट बनाइने पनिर स्वादिलो हुनुका साथै विभिन्न परिकार बनाउन मिल्ने भएकाले चाडपर्वमा यसको प्रयोग बढ्ने गर्छ । हरियो केराउ र आलुसँग मिसाएर बनाइएको पनिरको तरकारी, पनिर चिल्ली, पनिर मसला तथा गोलभेडाको अचारमा साँधेको पनिर बनाउन सकिन्छ ।

पनिरमा प्रोटिन, क्याल्सियम, फस्फोरसलगायतका पोषक तत्त्व पाइन्छन् । त्यसैले दसैँमा मासु नखानेका लागि पनिर स्वादसँगै पोषणको राम्रो विकल्प बन्न सक्छ ।

च्याउ

शाकाहारीका लागि च्याउ पनि दसैँमा बनाउन सकिने स्वादिलो परिकार हो । बजारमा विभिन्न प्रकारका च्याउ पाइन्छन् । च्याउबाट मसरुम चिल्ली, मसरुम छोयला, मसरुम सुप तथा च्याउको तरकारी बनाउन सकिन्छ । च्याउमा कम क्यालोरी र कम चिल्लो पदार्थसँगै विभिन्न पोषक तत्त्व पाइन्छन् । यसमा एन्टिअक्सिडेन्टलगायतका तत्त्व पाइने भएकाले सन्तुलित आहारका रूपमा च्याउलाई पनि समावेश गर्न सकिन्छ ।

आलु

धेरै प्रकारका परिकार बनाउन सकिने आलु शाकाहारीको दसैँको खानामा पनि सजिलै समावेश गर्न सकिन्छ । आलु फ्राइ, मुस्ताङे आलु, आलु साँधेको, आलु दम तथा आलुको अचारजस्ता परिकार दसैँको खानामा स्वाद थप्ने विकल्प हुन सक्छन् ।

आलुमा कार्बोहाइड्रेटसँगै पोटासियम र केही मात्रामा फाइबर पाइन्छ । यसले शरीरलाई ऊर्जा दिनुका साथै सन्तुलित खानाको हिस्सा बन्न सक्छ । तर धेरै तेल र नुन प्रयोग गरेर बनाउँदा भने यसको स्वास्थ्य लाभ कम हुन सक्छ ।

सोयाबिन

मासु नखानेका लागि सोयाबिन प्रोटिनको राम्रो विकल्प बन्न सक्छ । सोयाबिनको तरकारी, अचार,सोयाबिन पुलाउ बनाएर खान सकिन्छ । विशेषगरी मासुका परिकार नखानेले आफ्नो खानामा प्रोटिनको मात्रा मिलाउन सोयाबिन प्रयोग गर्न सक्छन् । सोयाबिनमा वनस्पतिजन्य प्रोटिनसँगै फाइबर, आइरन, क्याल्सियमलगायतका पोषक तत्त्व पाइन्छन् । फाइबरका कारण पाचन प्रणालीका लागि पनि उपयोगी हुन सक्छ ।

मिठाईमा खीर

दसैँमा मुख्य परिकारसँगै मिठाईको पनि विशेष महत्त्व हुन्छ । शाकाहारीले दूधबाट बन्ने खीरलाई दसैँको मिठो परिकारका रूपमा बनाउन सक्छन् । दूध, चामल, चिनी, सुकमेल, काजु, किसमिस तथा बदाम प्रयोग गरेर बनाइएको खीर परिवारसँग बसेर खानका लागि स्वादिलो विकल्प हुन सक्छ ।

दूधबाट बनाइने भएकाले खीरमा क्याल्सियम र प्रोटिन पाइन्छ । तर चिनीको मात्रा धेरै हुँदा क्यालोरी बढ्ने भएकाले स्वादअनुसार सीमित चिनी प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यसरी दसैँमा मासुका परिकार मात्रै खानुपर्छ भन्ने छैन । पनिर, च्याउ, आलु, सोयाबिनदेखि खीरसम्मका परिकारले शाकाहारीको दसैँको खानालाई पनि स्वादिलो र विविध बनाउन सक्छन् । चाडपर्वमा खानाको मात्रा र तेल–चिनीको प्रयोगमा भने ध्यान दिँदै विभिन्न समूहका खाद्य पदार्थ मिलाएर खानु स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ ।