भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना हुँदा ११ जना घाइते, चालक फरार

दुर्घटनापछि ईभी चालक भने घटनास्थलबाट फरार भएका छन् ।

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-१, बाँदरेभीरस्थित हेटौँडा-भैँसे सडकखण्डमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ०६७४ नम्बरको भाडाको ईभी गाडी दिउँसो करिब १२:३० बजे अनियन्त्रित भई सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँ किनारको नालामा खसेको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो । दुर्घटनापछि ईभी चालक भने घटनास्थलबाट फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ । दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र गाडी धनी शिवकान्त झासँग सम्पर्क भइसकेको छ ।