निफ्राको नाफा २० प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५८.४५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.५४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १९.५० प्रतिशत घटेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७८ पैसा घटेर ३ रुपैयाँ ८ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७९.९५ गुणा रहेको छ ।

२१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । गत असोज मसान्तसम्ममा बैंकले १२ अर्ब ४ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब १७ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।