नेप्सेमा सामान्य सुधार, कारोबार रकम ५ अर्ब ७९ करोडमाथि
कारोबारमा आएको यूनिलिभर नेपालको सेयरमूल्य आज सबैभन्दा बढी ४.९१ प्रतिशत घटेको छ ।
काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने सामान्य अंक सकारात्मक भएर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक ०.९४ अंक बढेर २६३०.७६ विन्दुमा बन्द भएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ ।
नेप्से सगै आज कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्ब २४ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ ।
बेनी हाइड्रोपावरको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य १२ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको यूनिलिभर नेपालको सेयरमूल्य आज सबैभन्दा बढी ४.९१ प्रतिशत घटेको छ ।
आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ त्यस्तै पिपुल्स हाइड्रोपावरको २४ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ ।
मंगलबार १३५ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको घटेको छ त्यस्तै ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।