लाभांश सिजन सुरु, कुनले कति दिए सेयरधनीलाई प्रतिफल ?

घोषित प्रतिफलमा बोनस सेयर र नगद लाभांश दुवै समावेश छन् । कम्पनीअनुसार लाभांशको दर र स्वरूप फरक रहेकाले लगानीकर्ताले आफ्नो सेयर स्वामित्वअनुसार प्राप्त हुने प्रतिफलमा ध्यान दिनुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै नेपालका सेयर बजारमा लाभांश सिजनले गति लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न क्षेत्रका ६३ वटा कम्पनी तथा सामूहिक लगानी कोषले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीलाई प्रतिफल दिने घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने संस्थामा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत्, उत्पादनमूलक, लघुवित्त, लगानी कम्पनी तथा सामूहिक लगानी कोष रहेका छन् । घोषित प्रतिफलमा बोनस सेयर र नगद लाभांश दुवै समावेश छन् । कम्पनीअनुसार लाभांशको दर र स्वरूप फरक रहेकाले लगानीकर्ताले आफ्नो सेयर स्वामित्वअनुसार प्राप्त हुने प्रतिफलमा ध्यान दिनुपर्ने देखिन्छ ।

वाणिज्य बैंक क्षेत्र

वाणिज्य बैंकमध्ये सिद्धार्थ बैंकले सबैभन्दा बढी २० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । त्यस्तै, नबिल बैंकले ५ प्रतिशत बोनस सेयर र १०.८ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

एभरेस्ट बैंकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने भएको छ । ग्लोबल आइएमई बैंकले ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

सानिमा बैंकले १० प्रतिशत र एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेका छन् । माछापुच्छ्रे बैंकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल ६ प्रतिशत लाभांश घोषणा गरेको छ । नागरिक बैंकले ४ प्रतिशत तथा कुमारी बैंकले २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले करसहित १६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

विकास बैंक र वित्त क्षेत्र

विकास बैंकमध्ये गरिमा विकास बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने भएको छ । कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेको छ । साङ्ग्रिला डेभलपमेन्ट बैंकले १०.५२६ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

वित्त कम्पनीतर्फ मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आइसिएफसी फाइनान्सले १०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

जलविद्युत् क्षेत्र

जलविद्युत् समूहमा माउन्टेन इनर्जी नेपालले सबैभन्दा बढी २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९४७ प्रतिशत नगद गरी कुल १८.९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरले समान १५.७८९ प्रतिशत लाभांश घोषणा गरेका छन् । सिकलेस हाइड्रोपावरले १३.३७५ प्रतिशत, कालिञ्चोक दर्शनले ८.९४ प्रतिशत तथा सानिमा मिडल तमोर हाइड्रोपावरले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

उत्पादनमूलक तथा लघुवित्त क्षेत्र

उत्पादनमूलक समूहमा रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सर्वोत्तम सिमेन्टले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्त समूहमा फस्र्ट माइक्रोफाइनान्सले ११.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गुराँस लघुवित्तले १० प्रतिशत र ग्लोबल आइएमई लघुवित्तले ९.५ प्रतिशत लाभांश घोषणा गरेका छन् । लगानी समूहको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

म्युचुअल फन्ड

सामूहिक लगानी कोष म्युचुअल फन्ड तर्फ हिमालयन ८०–२० ले १५ प्रतिशत नगद प्रतिफल घोषणा गरेको छ । प्रभु स्मार्ट फन्ड र प्रभु सेलेक्ट फन्डले समान १२ प्रतिशत प्रतिफल दिने घोषणा गरेका छन् । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले पनि १२ प्रतिशत प्रतिफल घोषणा गरेको छ ।

त्यस्तै, कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाले समान १० प्रतिशत प्रतिफल दिने भएका छन् । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ ले पनि १० प्रतिशत प्रतिफल घोषणा गरेका छन् ।