सेबोनले ६ चरणमा छुट्यायो आईपीओ आवेदन, अन्तिम चरणमा २ र पाँचाैमा १० कम्पनी

पहिलो चरणमा ​​​​​​​७६ कम्पनीको आवेदन, ६ कम्पनी प्रारम्भिक समीक्षामा

सेबोनको २०८३ कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले कुल ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ११७ कम्पनीका ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीका साधारण सेयर (आईपीओ) निष्कासन आवेदन प्रक्रियामा छन् । बोर्डले आवेदनको अवस्थालाई छ चरणमा वर्गीकरण गरी सार्वजनिक गरेको विवरणअनुसार अधिकांश कम्पनी प्रारम्भिक प्रक्रियामै रहेका छन् भने दुई कम्पनी निष्कासन स्वीकृतिको अन्तिम समीक्षामा पुगेका छन् ।

सेबोनको २०८३ कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले कुल ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् । आवेदन प्राप्त भएको, प्रारम्भिक समीक्षा भइरहेको, कैफियत पठाइएको, कैफियतको जवाफ प्राप्त भएको, जवाफको समीक्षा भइरहेको र अन्तिम समीक्षा भइरहेको गरी आवेदनलाई छ चरणमा वर्गीकरण गरिएको छ ।

दुई कम्पनी अन्तिम समीक्षामा

सेबोनको विवरणअनुसार आईपीओ निष्कासन प्रक्रियाको अन्तिम अर्थात् छैटौँ चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पुगेका छन् । यी दुई कम्पनीले कुल २९ लाख कित्ता सेयर निष्कासनका लागि अनुमति मागेका हुन् ।

आशुतोष इनर्जीले १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ लाख कित्ता सेयर निष्कासन गर्न आवेदन दिएका छन् । आशुतोष इनर्जीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेका छन् ।

यद्यपि, अन्तिम समीक्षामा पुग्दैमा आईपीओ निष्कासनको अनुमति सुनिश्चित हुँदैन । बोर्डले कम्पनीका आवश्यक कागजात, वित्तीय विवरण, विवरणपत्र तथा अन्य नियामकीय मापदण्ड परीक्षण गरेपछि मात्रै स्वीकृतिसम्बन्धी निर्णय गर्नेछ ।

१० कम्पनीको जवाफ समीक्षा हुँदै

आईपीओ निष्कासन प्रक्रियाको पाँचौँ चरणमा १० कम्पनीका आवेदन छन् । बोर्डले उठाएका प्रश्न तथा कैफियतको जवाफ प्राप्त भएपछि ती कम्पनीले पेस गरेका कागजात र विवरणको समीक्षा भइरहेको छ ।

यस चरणमा एनसी एग्रोटेक इन्डस्ट्रिज, सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड र सिउरी न्यादी पावरलगायत कम्पनी रहेका छन् । यी कम्पनीले कुल ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

चौथो चरणमा १९ कम्पनीका आवेदन छन् । बोर्डले पठाएको कैफियतको जवाफ बुझाइसकेका यी कम्पनीको आवेदनमा थप समीक्षा तथा प्रक्रिया अघि बढिरहेको छ । यस चरणमा डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट र ह्यास हस्पिटललगायत कम्पनी छन् । उनीहरूले कुल ११ करोड ९८ लाख ७८ हजार ५९५ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

तेस्रो चरणमा भने बोर्डले आवश्यक सुधार गर्न वा थप विवरण उपलब्ध गराउन कैफियत पठाएका चार कम्पनी छन् । महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट यस चरणमा रहेका छन् ।

७६ कम्पनीको आवेदन प्रारम्भिक प्रक्रियामै

सेबोनमा प्राप्त कुल आवेदनमध्ये सबैभन्दा धेरै ७६ कम्पनी पहिलो चरणमा छन् । यस चरणमा मारुती सिमेन्ट, अम्बे स्टिल्स र रिद्धिसिद्धि सिमेन्टलगायत कम्पनी रहेका छन् । यी कम्पनीले कुल २८ करोड ८ लाख २२ हजार ३१३ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

दोस्रो चरणमा भने ६ कम्पनीका आवेदनको प्रारम्भिक समीक्षा भइरहेको छ । यस सूचीमा आकामा होटल र अपेक्स मकालु हाइड्रोपावरलगायत कम्पनी छन् ।

पहिलो र दोस्रो चरणमा गरी ८२ कम्पनीका आवेदन छन् । यसले आईपीओ निष्कासनका लागि आवेदन दिएका अधिकांश कम्पनी अझै प्रारम्भिक प्रक्रियामै रहेको देखाउँछ । बोर्डको प्रारम्भिक समीक्षा, आवश्यक कागजातको परीक्षण तथा कैफियतसम्बन्धी प्रक्रिया पूरा भएपछि मात्रै आवेदन अर्को चरणमा प्रवेश गर्नेछ ।

सेबोनले कम्पनीले पेस गरेका कागजात, वित्तीय विवरण, विवरणपत्र तथा प्रचलित कानुनी र नियामकीय मापदण्ड पूरा भए-नभएको परीक्षण गरेर मात्रै आईपीओ निष्कासनको अनुमति दिने व्यवस्था छ । बोर्डको विवरणमा कतिपय कम्पनीले आवश्यक कागजात बुझाउन बाँकी रहेकोसमेत उल्लेख छ ।

बोर्डले कम्पनीहरूको पछिल्लो प्रतिसेयर नेटवर्थ पनि परीक्षण गरिरहेको छ । जलविद्युत् कम्पनीको हकमा व्यावसायिक उत्पादन सुरु भएको मिति अर्थात् कमर्सियल अपरेसन डेट (सीओडी) समेत परीक्षण गरिनेछ ।

सेबोनको विवरणअनुसार पहिलो चरणमा ७६, दोस्रोमा ६, तेस्रोमा चार, चौथोमा १९, पाँचौँमा १० र छैटौँमा दुई कम्पनीका आवेदन छन् । यसरी कुल ११७ कम्पनीका आवेदन प्रक्रियामा रहेका छन् ।

आईपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीको संख्या र माग गरिएको सेयर कित्ता ठूलो भए पनि सबै कम्पनीले स्वीकृति पाउने वा निष्कासनमा आउने समय निश्चित भइसकेको छैन । आवश्यक कागजात, वित्तीय विवरण, नियामकीय मापदण्डको परीक्षण र बोर्डको अन्तिम निर्णयले नै उनीहरूको आईपीओ निष्कासनको बाटो तय गर्नेछ ।

प्रकाशन भएका दस्तावेजहरू

6ae2e8a4972b7_1793255588.pdf