एनआइसी एसिया बैंकको नाफा पहिलो त्रैमासमा बढ्यो, ४.३२ प्रतिशतले वृद्धि
बैंकको इम्पेयरमेन्ट चार्ज घटेपछि नाफामा सामान्य सुधार देखिएको छ । गत वर्ष १ अर्ब १८ करोड ६४ लाख ५५ हजार रुपैयाँ रहेको यस्तो चार्ज चालु आवको असोज मसान्तसम्म घटेर ९२ करोड ९४ लाख १७ हजार रुपैयाँमा झरेको छ ।
काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३२ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड २१ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज घटेपछि नाफामा सामान्य सुधार देखिएको छ । गत वर्ष १ अर्ब १८ करोड ६४ लाख ५५ हजार रुपैयाँ रहेको यस्तो चार्ज चालु आवको असोज मसान्तसम्म घटेर ९२ करोड ९४ लाख १७ हजार रुपैयाँमा झरेको छ ।
यद्यपि, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने घटेको छ । गत वर्ष २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष घटेर १ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, सञ्चालन नाफा पनि १९ करोड ३५ लाख रुपैयाँबाट घटेर १६ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकको वितरणयोग्य नाफा १५ अर्ब ३९ करोड ६१ लाख १२ हजार रुपैयाँ ऋणात्मक रहेको छ। यसैगरी, निष्क्रिय कर्जाको अनुपात बढेर ९.८१ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ६.९९ प्रतिशत थियो ।
बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३३ पैसा रहेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ छ भने जगेडा कोषमा २६ अर्ब २१ करोड ६७ लाख १७ हजार रुपैयाँ सञ्चित रहेको छ ।
असोज मसान्तसम्म बैंकले ३ खर्ब ४१ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९१ अर्ब २० करोड ६ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।