माछापुच्छ्रे बैंकको नाफा ५५ करोड माथि, सञ्चालन मुनाफा ४४ प्रतिशत बढ्यो

कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकममा उल्लेख्य कमी आउनु र खुद ब्याज आम्दानी बढ्नुले बैंकको नाफामा सुधार आएको हो ।

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३१.८७ प्रतिशतले बढाएको छ । कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकममा उल्लेख्य कमी आउनु र खुद ब्याज आम्दानी बढ्नुले बैंकको नाफामा सुधार आएको हो ।

बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकको यस्तो नाफा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ थियो ।

बैंकको नाफा बढाउन कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याइने रकममा आएको गिरावटले मुख्य भूमिका खेलेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५४.१६ प्रतिशतले घटेर २१ करोड १२ लाख ७९ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले यस शीर्षकमा ४६ करोड ८ लाख ७४ हजार रुपैयाँ छुट्याएको थियो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि १५.६० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४५ करोड ८९ लाख ४८ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आवको सोही अवधिमा बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्जमा आएको कमीले बैंकको सञ्चालन मुनाफासमेत बढाएको छ । समीक्षा अवधिमा सञ्चालन मुनाफा ४३.७५ प्रतिशतले बढेर ८६ करोड २ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।


यद्यपि, बैंकको गैरब्याज आम्दानीतर्फ भने मिश्रित अवस्था देखिएको छ । खुद फि तथा कमिसन आम्दानी ४.३५ प्रतिशतले घटेर ४३ करोड ८५ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४५ करोड ८४ लाख ९९ हजार रुपैयाँ थियो । तर, खुद ट्रेडिङ आम्दानी ५२.८८ प्रतिशतले बढेर १२ करोड ८ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ६ करोड १० लाख रुपैयाँ रहेको छ ।

व्यापार विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ । गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म ग्राहक निक्षेप ३.५७ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो असार मसान्तमा बैंकको निक्षेप २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख रुपैयाँ थियो ।

यसैगरी, बैंकको कर्जा प्रवाह ५.४७ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो कर्जा १ खर्ब ६३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ थियो ।

बैंकको खराब कर्जामा समेत सामान्य सुधार देखिएको छ । कुल निष्क्रिय कर्जा अनुपात ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशतमा झरेको छ । खुद निष्क्रिय कर्जा अनुपात पनि १.२३ प्रतिशतबाट घटेर १.०४ प्रतिशत कायम भएको छ । त्यस्तै, कर्जा नोक्सानी व्यवस्थाको कभरेज अनुपात १००.८७ प्रतिशतबाट बढेर १०६.४३ प्रतिशत पुगेको छ ।

घट्दो ब्याजदरको प्रभाव बैंकका लागत तथा ब्याजसम्बन्धी सूचकमा पनि देखिएको छ । बैंकको कोषको लागत ४.०३ प्रतिशतबाट घटेर ३.१४ प्रतिशतमा झरेको छ भने आधार दर ५.८१ प्रतिशतबाट घटेर ४.९२ प्रतिशत कायम भएको छ । औसत ब्याजदर अन्तर पनि ३.६५ प्रतिशतबाट घटेर ३.४१ प्रतिशतमा सीमित भएको छ ।

बैंकको कर्जा–निक्षेप अनुपात ७७.९३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो अनुपात ७९.४४ प्रतिशत थियो ।

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिफलसम्बन्धी सूचकमा पनि सुधार आएको छ । वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ४३ पैसाबाट बढेर १७ रुपैयाँ ७१ पैसा पुगेको छ । त्यस्तै, सेयरधनीको पुँजीमा प्रतिफल (आरओई) ८.८९ प्रतिशतबाट बढेर ९.६२ प्रतिशत र सम्पत्तिमा प्रतिफल (आरओए) ०.७५ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात ११.७६ प्रतिशत रहेको छ । १५ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख रुपैयाँ सञ्चित छ । चुक्ता पुँजीमा ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरसमेत समावेश छ । चालु आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ११ करोड २१ लाख रुपैयाँ रहेको छ ।