मुक्तिनाथ विकास बैंकको नाफा ४३ प्रतिशतले बढ्यो, सञ्चालन नाफा दोब्बरभन्दा बढी
बैंकको कुल सम्पत्ति पनि बढेर १ खर्ब ४२ अर्ब २० करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सम्पत्ति १ खर्ब ४१ अर्ब ६ करोड २३ लाख रुपैयाँ थियो। बैंकको चुक्ता पुँजी ८० करोड रुपैयाँ र जगेडा कोषमा ४६ करोड ३८ लाख १२ हजार रुपैयाँ रहेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । गत वर्ष १ अर्ब १८ करोड ५५ लाख १० हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आवको असोज मसान्तसम्म बढेर १ अर्ब २१ करोड ७६ लाख ७ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, शुल्क तथा कमिसनबाट प्राप्त खुद आम्दानी १२ करोड ७० लाख ८३ हजार रुपैयाँबाट बढेर १९ करोड ९४ लाख ४ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि गत वर्षको १ अर्ब ३७ करोड ८४ लाख ६९ हजार रुपैयाँबाट बढेर १ अर्ब ४४ करोड ९३ लाख ८७ हजार रुपैयाँ कायम भएको छ ।
यस अवधिमा बैंकको सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष ३२ करोड ११ लाख ६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा बढेर ७५ करोड ६३ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
व्यवसाय विस्तारतर्फ बैंकले असोज मसान्तसम्म १ खर्ब २६ अर्ब २५ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा बैंकको निक्षेप १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ थियो । यसैगरी, बैंकले १ खर्ब ५ अर्ब ४७ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको कुल सम्पत्ति पनि बढेर १ खर्ब ४२ अर्ब २० करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सम्पत्ति १ खर्ब ४१ अर्ब ६ करोड २३ लाख रुपैयाँ थियो। बैंकको चुक्ता पुँजी ८० करोड रुपैयाँ र जगेडा कोषमा ४६ करोड ३८ लाख १२ हजार रुपैयाँ रहेको छ ।
नाफा तथा आम्दानीका सूचकमा सुधार देखिए पनि बैंकको खराब कर्जा अनुपात भने बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १.३२ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा बढेर २.१९ प्रतिशत पुगेको छ । त्यस्तै, खराब कर्जाको तुलनामा गरिएको कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०२.३८ प्रतिशतबाट घटेर ८३.६७ प्रतिशतमा झरेको छ ।
अन्य वित्तीय सूचकमा भने सुधार देखिएको छ । बैंकको कोष लागत ४.६६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशत र आधार दर ६.५९ प्रतिशतबाट घटेर ५.४६ प्रतिशत कायम भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात ८४.०५ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १२.८६ प्रतिशत रहेको छ ।
त्यस्तै, बैंकको स्वपुँजीमा प्रतिफल ७.५६ प्रतिशतबाट बढेर ९.८४ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल पनि ०.६७ प्रतिशतबाट बढेर ०.९० प्रतिशत कायम भएको छ ।