प्राइम कमर्सियल बैंकले कमायो १ अर्ब १८ करोड नाफा, निष्क्रिय कर्जा बढ्दो

त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १२.७९ प्रतिशतले बढेर ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यी सूचकमा सुधार आएसँगै कुल सञ्चालन आम्दानी पनि ४.६२ प्रतिशतले वृद्धि भई ३ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ ।

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६२ प्रतिशत कम हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद नाफामा गिरावट आए पनि मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ८.२४ प्रतिशतले बढेर २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ थियो ।

त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १२.७९ प्रतिशतले बढेर ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यी सूचकमा सुधार आएसँगै कुल सञ्चालन आम्दानी पनि ४.६२ प्रतिशतले वृद्धि भई ३ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ ।

यद्यपि, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढ्दा बैंकको सञ्चालन नाफा प्रभावित भएको छ । गत वर्ष ४८ करोड ९ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आवमा बढेर ६१ करोड ७० लाख रुपैयाँ पुगेको छ । यसले बैंकको सञ्चालन नाफा ५.४८ प्रतिशतले घटेर १ अर्ब ९६ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष २५ रुपैयाँ ९४ पैसा रहेको यस्तो आम्दानी चालु आवको पहिलो त्रैमासमा २२ रुपैयाँ ६७ पैसामा झरेको छ । यसैगरी, बैंकको निष्क्रिय कर्जा अनुपात बढेर ७.१५ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ५.८६ प्रतिशत थियो ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ५ करोड १७ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ ।

यस अवधिमा बैंकले २ खर्ब ७५ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कुल सम्पत्ति ३ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ ।