समस्याग्रस्त ५ सहकारीका ऋणीलाई भदौभित्र ऋण तिर्न अल्टिमेटम
सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न ताकेता गरेको हो ।
काठमाडौं । समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती प्रदेश सरकारले अल्टिमेटम दिएको छ
बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न ताकेता गरेको हो ।
सम्वन्धित सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघिसम्मको ऋण तिर्न उर्दि जारी भएको हो । सिभिल २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।
ताकेता गरिएका सहकारी संस्थाका ऋणीहरुले भदौ ३१ गतेभित्र ऋण नबुझाएमा साँवा, ब्याज र हर्जानासमेत गणना गरी ऋण असुल गर्ने र ऋण असुली सम्बन्धी आवश्यक कानुनी काबारहीको प्रक्रिया अघि बढाउने चेतावनी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले दिएको छ ।
ऋणीहरुलाई सावाँ र ब्याज तिर्न यसअघि पटकपटक आग्रह गरिए पनि सम्पर्कमा नआएको भन्दै समितिले सार्वजनिक सूचना जारी गरेको हो ।