नेप्से १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार

काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.४४ अङ्कले घटेर २९६४.२० अंकमा अडिएको छ । साताको पहिलो दिन कारोबार खुलेदेखी सुरुवाती २ घण्टा बृद्धिको अवस्थामा रहेको सूचक त्यसपछि भने घट्न थालेको थियो । यसअघि लगातार ८ दिन बढेको सूचक आइतबार नवौं दिन भने घटेको हो । नेप्से सूचक घटेपनि कारोबार रकममा भने उल्लेख्य बृद्धि भएको छ । गत विहीबार १८ अर्व ४९ करोड रुपैयाँ कारोबार भएकोमा आइतबार भने २६ अर्व ५७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

आइतबार ३ सय २३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७ सय ६२ कित्ता सेयर किनबेच भएको छ । आइतबारको कारोबार रकम विगत ११ महिनाकै बढी हो । सेयर घट्दा पनि कारोबार रकममा उल्लेख्य बृद्धि हुनुले आगामी बजार उकालो लाग्छ भन्ने संकेत गर्दछ । 

विकास बैंक समूह १.२३, उत्पादन तथा प्रशोधन १.०८, म्युचुअल फण्ड ०.३९ र व्यापार समूह १.४४ प्रतिशतले बढेको छ भने अरु सबै समूह सूचक घटेका छन् ।

आइतबार समता घरेलु लघुवित्त वित्तीय संस्था, ट्रेड टावर र सान्भी इनर्जी सकारात्मक सर्किट लेवलमा कारोबार भएका छन् । सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक छ । रकमका आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको १ अर्ब २ करोड ३ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।