ओभरलोड नियन्त्रण गर्न ट्रक महासंघको माग, आवश्यक निर्देशन हुन्छ : महानिरिक्षक
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्न नेपाल प्रहरीसँग माग गरेको छ ।
महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापालाई ज्ञापनपत्र बुझाउँदै ओभरलोड नियन्त्रणको माग गर्दै ट्राफिक प्रहरी र मातहतको निकायलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको हो ।
ज्ञापनपत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहे पनि न्यून जरिवानाका कारण समस्या समाधान नभएको उल्लेख छ । महासंघले ओभरलोड गर्ने ट्रकलाई यातायात कार्यालयमा चलान गर्न वा निर्देशिका अनुसार सामान अनलोड गराई भार मिलान गर्न कडाइका साथ कार्यान्वयन हुनुपर्ने माग राखेको छ । महासंघले हालै सञ्चालनमा ल्याएको भारवहन नियमन सफ्टवेयलाई प्रभावकारी बनाउन पनि ट्राफिक प्रहरीको सहकार्य आवश्यक रहेको महासंघको भनाई छ ।
त्यसअवसरमा महानिरीक्षक थापाले ओभरलोड समस्या गम्भीर भएको भन्दै यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र कानुन अनुसार बनाउन ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिने बताए ।
महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाँले सवारी तथा यातायात सम्बन्धी ऐन, नियम र मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड प्रवृत्ति बढिरहेको दावी गरे ।
स्वदेशी तथा विदेशी ट्रकहरूले लोड सिट विना तोकिएकोभन्दा बढी भार बोक्ने र सामान्य जरिवाना तिरेर सवारी सञ्चालन गर्ने प्रवृत्ति बढिरहेको बानियाँको दावी छ ।