नेप्से ४ वर्षकै उच्च विन्दूमा, गत वर्षको मनोबैज्ञानिक त्रास तोड्यो
मंगलबार बजार बन्द हुँदाको नेप्से २०७८ भदौ १३ यताकै उच्च हो । यद्यपी त्यतिबेला बजार घट्दो क्रममा थियो । सोही वर्ष भदौ २ गते नेप्सेले हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएको थियो ।
काठमाडौं । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । सोमबारको तुलनामा ३०.७६ अंक बढेको नेप्से ३००२.०७ अंकमा रोकिएको छ ।
गत वर्ष साउन ३१ गतेको ३०००.८१ अंकको मनोवैज्ञानिक त्रासलाइ तोडेर अघि बढेको छ । यद्यपी कारोार समयको मध्यतिर दिउँसो १२ बजेर १६ मिनेट जाँदा ३०२८ अंकसम्म पुगेको थियो । यसले बजार बढ्दो क्रममा छ भन्ने देखाउँछ । मंगलबार बजार बन्द हुँदाको नेप्से २०७८ भदौ १३ यताकै उच्च हो । यद्यपी त्यतिबेला बजार घट्दो क्रममा थियो । सोही वर्ष भदौ २ गते नेप्सेले हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएको थियो ।
मंगलबार १८ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जुन सोमबारको १९ अर्ब ३६ करोडको तुलनामा कम हो । यसअघि २०८१ साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । पछिल्ला दिनहरुमा सूचक बढेपनि कारोबार रकममा ठूलो बृद्धि देखिएको छ ।
मंगलबार १ सय ७६ कम्पनीको मूल्य बढ्दा ७४ कम्पनीको मूल्य घटेको छ । यसदिन अन्य समूह सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो । त्यस्तै माइक्रोफाइनान्स १.६९, बैंकिङ १.३२, निर्जीवन बिमा १.१२, उत्पादन तथा प्रशोधन ०.९८, होटल तथा पर्यटन ०.३२, लगानी ०.९४, जीवन बीमा ०.७९, हाइड्रोपावर ०.४४ प्रतिशत बढे । बढेको बजारमा पनि फाइनान्स ०.१२, व्यापार ०.२५ र विकास बैंक समुह ०.३६ प्रतिशत घटेका छन् ।
मंगलबार मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल वेयरहाउजिङको ८.०६, मायाखोलाको ७.२१ तथा ग्रिन भेन्चर्सको ७ प्रतिशत मूल्य बढ्यो । समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशतले मूल्य घटेको छ ।