गिरीवन्धुको जग्गा चिया बगानबाहेक अन्यत्र प्रयोग भए स्वतः सरकारको हुन्छ : भूमिमन्त्री अधिकारी
काठमाडौैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापाको गिरीबन्धु टी इस्टेटको जग्गा अन्य कामका लागि प्रयोग भए त्यो जग्गा स्वतः सरकारको हुने दावी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जग्गा धनीले हदबन्दीभित्रको जग्गाको स्वामित्व लिन पाएपनि बाँकी सरकारको नाममा आउने मन्त्री अधिकारीले बताए ।
‘यहाँ गिरीबन्धु टी इस्टेटका, के के का कुरा आउँछन्, गिरीबन्धु टी–इस्टेट भनेको त्यो चिया बगानका लागि लिएको जग्गा हो, त्यस्तो जग्गा अर्कोमा परिणत गर्ने कहाँ भनेको छ र ?’, भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा मन्त्री अधिकारीले भने, ‘त्यो अर्कोमा परिणत गर्न पाइन्न, जुन उद्देश्यका लागि लिइएको हो, त्यसैमा काम गर्नुपर्छ नभए स्वतः सरकारको हुन्छ ।’
गिरीबन्धु टी इस्टेटको हदभित्रको जग्गा प्रयोजन बाहेकको काममा प्रयोग गरे सरकारको हुने मन्त्री अधिकारीले जानकारी दिए । तराईमा १० बिगाहा जमिन व्यक्तिले राख्न पाउने व्यवस्था सम्झाउँदै मन्त्री अधिकारीले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको बताए ।
विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरुले विचौलियालाई नभइ बास्तविक जनताको समस्या समाधान हुने गरी विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । मंगलर संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरुको छलफल सकिएको छ ।