सोमबार औसत मूल्यमा देखिएको गडबडीमा लगानीकर्ताको चासो, नेप्से पदाधिकारीसँग गरे छलफल
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को औसत मूल्यमा देखिएको गडबडीमा लगानीकर्ताहरुले चासो राखेका छन् । नेपाल सेयर बजार लगानीकर्ता संघले मंगलबार नेप्सेका पदाधिकारीहरुसँग औसत मूल्य गडबडी र सेयर बजारका अन्य विषय केन्द्रित भएर मा छलफल गरेका छन् ।
लगानीकर्ताहरूले साउन १२ गते भएको १५ मिनेटको औसत मूल्यमा देखिएको गडबडी र यसले लगानीकर्तामा सिर्जना गरेको अन्योलबारे नेप्से पदाधिकारीलाई जानकारी गराएका थिए । संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणी चापागाँईलाई ध्यानाकर्षण पत्र समेत दिए ।
छलफलमा नेप्सेका सिइओ चापगाँई र प्रवक्ता मुराहरी पराजुली संलग्न थिए । त्यसअवसरमा सिइओ चापगाँईले लगानीकर्ताहरूलाई आश्वस्त पार्दै भविष्यमा यस पक्षमा गम्भीरतापूर्वक काम गरिने बताए । यस्ता छलफलले लगानीकर्ताका जायज चासोहरूलाई सम्बोधन गर्न र बजारको प्राविधिक पक्षलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।