बीबीआईएन देशहरूबीच व्यापार र आर्थिक सहकार्य अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यकः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको बताएका छन् ।
३१ औं कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले आयोजना गरेको नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी विषयक कार्यक्रममा अध्यक्ष ढकालले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धि हुने बताए ।
‘भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधार विकासले समग्र आर्थिक वृद्धिमा सहयोग पु¥याउँछ’, अध्यक्ष ढकालले भने, ‘नेपालमा सडक, रेल, विमानस्थल र गोदाम पूर्वाधार अझै अपर्याप्त छन् । विशेषगरी सीमा नाकाहरू र मुख्य व्यापार मार्गहरूमा लजिस्टिक्स हबहरूको आवश्यकता छ ।’ लजिस्टिक्स विकासले नेपालको निर्यात वृद्धि र विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने ढकालको भनाइ छ ।
अध्यक्ष ढकालले प्रभावकारी र डिजिटल लजिस्टिक्स प्रणालीले व्यवसाय र उद्योगहरूको लागत घटाउने र सस्तो आपूर्ति श्रृंखला निर्माण गर्ने बताए । नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि समुद्री पहुँचको महत्वमा जोड दिँदै ढकालले भने, ‘यातायात र ढुवानी क्षेत्रमा निजी क्षेत्रको शतप्रतिशत लगानी भएकाले सरकारले विशेष ध्यान दिनुपर्छ । यातायात क्षेत्रमा सार्वजनिक निजी साझेदारी मोडलमा काम गर्न निजी क्षेत्र तयार छ ।’
ढुवानी सेवामा लगाइएको मूल्य अभिवृद्धि करले ढुवानी सेवा प्रभावित भएको र सामानको मूल्यवृद्धि भई उपभोक्ताहरूलाई चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको भन्दै अध्यक्ष ढकालले नेपालको निर्यात व्यापारमा ह्रास र व्यापार घाटा बढ्ने जोखिमतर्फ सबैको ध्यान जानुपर्ने बताए ।