वैदेशिक रोजगार बोर्डको एक वर्ष : वैदेशिक रोजगारीमा जाने साढे १४ हजारलाई तालिम
पत्रकारलाई पुरस्कार दिने घोषणा
चालू वर्ष संघीय र प्रदेश सांसदहरूका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।
काठमाडौं। वैदेशिक रोजगार बोर्डले विगत एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा गरेका कामहरुको जानकारी दिँदै बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४ सय ५८ युवालाई सीपमूलक तालिम दिइएको बताए ।
त्यसैगरि यसबीचमा श्रमाधान कल सेन्टरको सफल सञ्चालन, टेलिमेडिसिन सेवा, र विभिन्न सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको उप्रेतीले बताए । एक वर्षको अवधिमा बोर्डले १ हजार १ सय ८० नेपालीको शव मृतकको घरसम्म ढुवानी गरेको, १ हजार २ सय ५० जना मृतक कामदारका परिवार र ६ सय ९८ जना अंगभङ्ग/विरामी कामदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।
त्यसैगरि २ सय ७५ जना कामदारका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरेको र ३ हजार ९ सय ९० जनालाई वैदशिक रोजगार सन्तती छात्रवृत्ति सहायता दिएको उप्रतीले दावी गरे । यसअवधिमा ७० वटा अलपत्र शव झिकाउनुका सार्थ एक जना अलपत्र कामदारलाई उद्धार गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षको प्रगति प्रतिवेदनसँगै बोर्डले चालू आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएका नयाँ कार्यक्रमहरुको समेत जानकारी दिएको छ । बोर्डले चालु वर्ष पुराना कल्याणकारी तथा उद्धार कार्यक्रमका अतिरिक्त केही नयाँ कार्यक्रमहरू पनि अघि सारेको छ । बोर्डका अनुसार चालू वर्ष संघीय र प्रदेश सांसदहरूका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।
त्यस्तै वैदेशिक रोजगारीबाट फर्केर सफल उद्यमी बनेकाहरूलाई सम्मान गर्न ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम सञ्चालन गर्नुका साथै वैदेशिक रोजगारका विषयमा कलम चलाउने पत्रकारहरूलाई पुरस्कृत गर्ने योजना अघि सारेको छ । कार्यक्रमअनुसार बोर्डले पुराना शववाहनको सट्टा दुईवटा नयाँ विद्युतीय शववाहन (एम्बुलेन्स) खरिद गर्ने छ ।