बागमतीका मुख्यमन्त्री बहादुरसिंहलाई राजीनामा दिन देउवाको फेरि निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिन फेरि निर्देशन दिएका छन् ।
बागमतीमा संसदीय दलको नेताबाट पराजित भएका लामालाई सभापति देउवाले बिहीबार बोलाएर राजीनामा दिन निर्देशन दिएका हुन् । लामा निकट एक प्रदेश सांसदले भने, ‘सभापतिसँग मुख्यमन्त्रीको हिजो कुराकानी भएको हो । सभापतिले राजीनामा गर्न निर्देशन दिनुभएको छ ।’ जवाफमा लामाले कांग्रेसका सांसदहरुसँग छलफल गरेर निर्णय लिने बताएका थिए ।
मुख्यमन्त्रीको एक वर्षे कार्यकाल विताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नेताका लागि निर्वाचन भएको थियो । संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । कांग्रेसबाट बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।