झापा इनर्जीले वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गरेको आईपीओमा भर्ने आज अन्तिम दिन

झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १८ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९ सय रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरेको १० मेगावाटको ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजनाको कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ रहेको छ । सो आयोजनाको विद्युत अनुमतिपत्र २२ वर्ष बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि इक्विटीको ९.५५ वर्ष र प्रोजेक्टको ८.०६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि इक्विटीको १३.४६ वर्ष र प्रोजेक्टको १५.६६ वर्ष रहेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।