उपत्यकाको यातायात व्यवस्था बिग्रिएको छ, निर्णायक कदम चालिहाल्नुपर्छ : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौ उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने बेला आएको बताएका छन् ।
काठमाडौ उपत्यका संघीय राजधानी एवम् सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा उनको जोड छ ।
आइतबार ललितपुरमा आयोजित काठमाडौं उपत्यका शहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्यांकन सम्बन्धी सरोकारवालाहरुको बैठकमा उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरू समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहे पनि यहाँको यातायात प्रणाली निकै दबाबमा रहेको बताए ।
सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजना यता यातायातको अवस्था निकै बिग्रिएको र बढ्दो सवारी साधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम, ढिलाइ र वायु प्रदूषण बढेको मन्त्री दाहालको ठम्याइ छ । यसले गर्दा दैनिक यातायातलाई मात्र होइन, आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेकाले यसको व्यवस्थापनमा ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
उनले भने, ‘ यदि हामीले अहिले पनि निर्णायक कदम नचाले भने, अवस्था थप बिग्रनेछ, जसले उपत्यकाको बस्नयोग्यता र दिगोपनलाई खतरामा पार्नेछ। यो परियोजना छोटो र दीर्घकालीन समाधानहरू खोज्ने हाम्रो अन्तिम अवसर हुन सक्छ।’
कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले उपत्यकाको यातायात व्यवस्थापनका लागि गर्नुपर्ने सहयोग र समन्वयका लागि मन्त्रालय तयार रहेको बताए । भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले जीवन्त र सास्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायातका लागि बहुपक्षीय समन्वयको आवस्यकता रहेको बताए ।