महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच बैकिङ्ग सेवा विस्तार सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारीपछि महालक्ष्मीले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको छ । महालक्ष्मी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने पहिलो विकास बैंक भएको छ ।

दुवै बैंकले सम्पुर्ण प्रक्रिया पुरा गरी परिक्षण कारोबार समेत गरिसकेका छन् । एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा अन्तर्गत सि.एम.एस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा महालक्ष्मीलाई पहुँच प्राप्त हुनेछ । जसबाट कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाईम ग्रस सेटलमेन्ट र फण्ड ट्रान्सफरको प्रयोग गरी एचडीएफसीमार्फत नेपालमा रहेको महालक्ष्मीको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् ।