एलएफपी ब्याट्री भएको दीपल एस–०७ खरिद गर्दा ५ वर्षसम्मको खर्च कम्पनीले बेहोर्ने, मूल्य कति ?
काठमाडौं । दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी एस–०७ आईसीए सार्वजनिक गरेको छ । कम्पनीले ‘५ वर्षे शून्य ओनरशिप कस्ट’ को अभूतपूर्व योजनासहित गाडी सार्वजनिक गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार ग्राहकले ५ वर्षसम्म गाडीको स्वामित्वसँग सम्बन्धित कुनै पनि खर्च गर्नु पर्दैन । यो योजनाअन्तर्गत ५ वर्षको अवधिका लागि सवारी बीमा, सडक कर, आवधिक मर्मतसम्भार र चार्जिङका लागि आवश्यक बिजुलीसमेत निःशुल्क दिइने छ ।
‘नयाँ दिपल एस–०७ आईसीए अपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो,’ सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगटेको छ । अझ नयाँ दिपल एस–०७ आईसीएको नेपालमा उपलब्धताले पनि एमएडब्लु इभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’
सिकारियाअनुसार नयाँ अफरले ग्राहकलाई खरिदपछिको खर्चको चिन्ताबाट पूर्ण रूपमा मुक्त गराउने छ । गाडीमा (लिथियम आइरन फस्फोट) एलएफपी ब्याट्री राखिएको छ । यसअघि गाडी एनसीएम ब्याट्रीमा मात्र उपलब्ध थियो ।
कार्यक्रममा ब्राण्ड एम्बेसडर पारस खड्काले नयाँ दिपल एस–०७ आईसीए गाडी चलाउँदाको अनुभव सुनाएका थिए । यो गाडी ‘निबोला ब्लू’ रङमा उपलब्ध छ । सार्वजनिक गाडीमा ६८.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक जडान गरिएको छ । जसले डब्लुएलटीपी मापदण्डअनुसार एक पटकको फुल चार्जमा ४१० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।
कम्पनीका अनुसार एस–०७ फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक फिचरका कारण नेपाली बजारमा स्थापित भइसकेको मोडल हो । कुपे–स्टाइल बनावट, फ्रेमलेस ढोका, २० इन्चको टायर, र क्वालकम स्न्यापड्रागन ८१५५ चिपसेटयुक्त १५.६ इन्चको विशाल सनफ्लावर टचस्क्रिन यसका मुख्य आकर्षण हुन् । गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।