आयो नेपालमा जिलीको ईएक्स ५ इभी, मूल्य ५८ देखि ६८ लाखसम्म

काठमाडौं । चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स ५ सिरिज नेपाल भित्रिएको छ ।

एलआरआर मोटर्सले नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स ५ प्रो र जिली ईएक्स ५ म्याक्स भित्राएको हो । जिली उत्पादनको छोटो समयमै विश्वब्यापीरुपमा चर्चा बटुल्न सफल भएको गाडीमध्ये एक हो । 

नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा जिली बढी प्रतिस्पर्धात्मक लाभ रहेको मानिन्छ । जिली स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन ५ आकर्षक रङमा उपलब्ध छन् ।

नेपाली बजारका लागि ईएमएएक्स ५ प्रो को मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने ईएमएएक्स ५ म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ । नेपाली उपाभोक्ताको अवस्था र रुचीलाई मध्यनजर गर्दै कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ दिने जनाएको छ ।

जिलीका दुबै मोडलमा ६०.२ किलोवाट÷घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ ।

गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको ब्याट्रिले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत भएको बताइन्छ । जिलीमा प्रयोग भएको ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ, जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै हो । साथै आधिकारीक आयातकर्ता एलआरआर मोटस्र्ले जिलीका गाडीहरुको ब्याट्रीमा ८ वर्ष वा २ लाख किमिसम्म वारेण्टि दिएको जनाएको छ ।

जिलीका दुबै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी÷घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ । जिलीको सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीको दावी छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिन्छ ।


आकर्षक डिजाइन र इन्टेरियर

जिली ईएमएएक्स ५ श्रृखलाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् । आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि छ ।

ईएमएएक्स ५ मा थप रूपमा हेडअप डिस्प्ले, हीटिंग, भेन्टिलेटेड र मसाजिङ्ग क्षमतायुक्त आरामदायी सिटको साथै फ्लाइमीको साउण्ड सिस्टम समेत उपलब्ध छन्, जसले उपभोक्तालाई लक्जरी अनुभव दिन्छ । जिलीका दुबै मोडलमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् । त्यस्तै जिलीले आफ्नै विकसित फ्लाइमीका अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ ।


ईएमएएक्स ५ प्रो र ईएमएएक्स ५ म्याक्स दुबैमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।