गणपति लघुवित्तको नाफामा उल्लेख्य वृद्धि
गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुव्त्तिले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.७१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८६.५७ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४२.२६ प्रतिशत र सञ्चालन मुनाफा १६८.२७ प्रतिशत बढेको छ । चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४२ पैसा रहेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १८ रुपैयाँ १ पैसा बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.६६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा रहेको छ ।
१५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असार मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।