स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि सर्वसाधारणलाई सेयर विक्री गर्ने, लघुवित्त क्षेत्रको अन्तिम आइपीओ

कठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साउन ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । स्वस्तिक लघुवित्तको आइपीओ नै लघुवित्त तर्फको आइपीओ हुने छ । आगामी दिनमा नेपाल राष्ट्र बैंकले नयाँ लघुवित्त खोल्न स्वीकृती दिएमा मात्रै थप लघुवित्तको आइपीओ जारी हुनेछ । अन्यथा स्वस्तिक नै अन्तिम हुने छ । 

स्वस्तिकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिसकको छ । 

दोस्रो चरणमा लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । निष्काशन बन्द छिटोमा भदौ ३ गते हुनेछ भने ढिलोमा भदौ १३ गते हुनेछ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।