प्रधानमन्त्री ओलीको भारत भ्रमणसँग जुधेपछि सर्‍यो इप्पानको पावर समिट, मिति तोकिएन

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गर्न लागेको पावर समिट, २०२५ को पूर्वनिर्धारित मिति सरेको छ । यसअघि असोज १ र २ गते गर्ने भनिएको समिट अब असोज २९ र ३० गते हुने इप्पानले जनाएको छ ।

पावर समिटको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीहरूको समेत सहभागिता हुने भएकोले मिति पछाडि सारिएको इप्पानले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ अन्तिमका लागि तय भएको छ। यद्यपि, यकिन मिति भने तोकिएको छैन।

समिट साविककै स्थान सोल्टी होटलमा आयोजना हुनेछ। सन् २००६ देखि हरेक २/२ वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौँ संस्करणको नारा ‘मिसन २८, ५०० मेघावाट : पावरिङ नेपाल, इनरजाइजिङ रिजन’ राखिएको छ।

सरकारले अघि सारेको सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्‍याउने ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुरयाउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा व्यापार गर्न/गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरू एउटै छानामुनि भेला गराउने मुख्य उद्देश्य रहेको इप्पानले जनाएको छ।

यो समिटलाई नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संरक्षकत्व प्राप्त भएको भन्दै इप्पानले कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहने तय भइसकेको जानकारी दिएको छ।