सानिमा बैंकको लाभांस क्षमता दोब्बरले बढाउँदा अरु सूचक कस्ता ?

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षमा वितरणयोग्य नाफा दोब्बरले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता १०.६६ रुपैयाँ भएकोमा अहिले बढेर २०.४७ रुपैयाँ पुगेको हो । गत असारको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको लाभांस दिने क्षमता २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ छ ।

बैंकको नाफा बढेसँगै लाभांस क्षमता पनि बढेको हो । पछिल्लो एक वर्षमा २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । सानिमाको गत आर्थिक वर्षको नाफा अघिल्लो आवको २ अर्ब ३१ करोड ७९ लाखको तुलनामा १०.९२ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी २.८१ प्रतिशतले बढाएर ६ अर्ब ३५ करोड ६० लाख रुपैयाँ पुगेको छ । यसअवधिमा बैंकको खराब कर्जा १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ । 

१३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ छ । बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल बैंकको प्रति सेयर आम्दानी १८.९३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६८.८३ रुपैयाँ छ ।