माबिलुङ इनर्जीको आईपीओ खुल्यो, साउन २९ गतेसम्म भर्न पाइने

काठमाडौं । सर्वसाधारणका लागि आज सोमबारदेखि माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जुन जारी पूँजीको ४८.९९ प्रतिशत हो । वैदेशिक रोजगारमा रहेका, आयोजना प्रभावित तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले संखुवासभा जिल्लामा माथिल्लो पिलुवाखोला– ३ मा ४.९५ मेगावाट क्षमताको आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा छ । यसमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ९.४३ वर्ष रहेको छ ।