स्रोत अभाव हटाउन र निजी क्षेत्रको सहभागिता बढाउन वैकल्पिक वित्त कोष महत्वपूर्ण हुनेछ : पूर्वअर्थमन्त्री एवं सांसद कार्की

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गतिलाई तीब्र पारिनुपर्ने बताएका छन् । अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको पूर्वाधार निर्माणका लागि निजी क्षेत्रको समेत सहभागिता हुनेगरी ल्याइएको कानुन छिटो बनाइनुपर्नेमा जोड दिए । सरकारले वैकल्पिक विकासको योजनाहरु अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।

पूर्व अर्थमन्त्री कार्कीले भने– ‘नयाँ सोचका साथ वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुन ल्याइएको हो । चाँडोभन्दा चाँडो समितिबाट पास हुनुपर्छ । अहिले जुन तरिकाले समितिमा छलफल भएको छ, यो ढिलाइ भइरहेको छ । वैकल्पिक विकासको योजनाहरु अघि बढाउनुपर्छ ।’

सांसद कार्कीका अनुसार अहिले देखिएको स्रोत अभावको समस्यालाई हटाउन र विकासमा निजी क्षेत्रको सहभागिता बढाउन वैकल्पिक वित्त कोष महत्वपूर्ण हुनेछ । विधेयकमा धेरै कुरा स्पष्ट रहेको उनले बताए ।