उत्साही वित्तीय विवरणले छोएन नेप्सेलाई, सूचक घटेको घट्यै
सोमबारसम्म सार्वजनिक गरेका अधिकांस कम्पनीहरुको वित्तीय विवरण सकारात्मक आएपनि सूचक भने निरन्तर घटिरहेको छ ।
सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज २७.९ अंकले घटेर २८२२.४६ अंकमा झरेको छ । पछिल्लो १५ मिनेटको औसतअघि नेप्सेमा २८.४४ अंकले घटेर २८२१.९२ अंकमा झरेको थियो । यद्यपी कारोबारका अन्तिमतिर २८२०.०५ अंकसम्म नेप्से झरेको थियो । औसत मूल्य समायोजनपछि केही माथिल्लो विन्दुमा रोकिएको नेप्से पछिल्ला दिनहरुमा निरन्तर घटिरहेको छ ।
२०८२ साउन १३ गते ४ वर्ष अघिको उच्च विन्दु ३००२.०७ अंकमा पुगेको नेप्से त्यसपछिका ८ कारोबार दिनमध्ये ६ कारोबार दिन घटेर सोमबार २८२२.४६ अंकमा रोकिएको हो । गत बिहीबार २८५०.३७ अंकमा रहेको नेप्से सोमबार कारोबार सुरु भएको आधा घण्टामा बढेर २८७५.४५ अंकसम्म चढेको थियो । तर, त्यसपछि घट्न थालेको नेप्से बीचबीचमा बढ्ने कोशिस गरेपनि सम्भव देखिएन र अन्तिम समयमा ठूलो अंकले घट्न पुग्यो ।
गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सोमबारसम्म सार्वजनिक गरेका अधिकांस कम्पनीहरुको वित्तीय विवरण सकारात्मक आएपनि सूचक भने निरन्तर घटिरहेको छ । सोमबार ३० कम्पनीको मूल्य बढ्दा हकप्रद सेयरको मूल्य समायोजनपछि भएको कारोबारमा रिभर फल्स पावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
एता, २२० कम्पनीको मूल्य घट्दा सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ७.६४ प्रतिशतले घटेको छ । आइतबार गाइजात्रा पर्वका कारण कारोबार रोकिएको नेप्सेमा सोमबार कारोबार रकम भने बिहीबारको तुलनामा बृद्धि भएको छ । बिहीबार ८ अर्व ५३ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार १० अर्व २१ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।