सभापति देउवाले दिए बागमती कांग्रेसका दुवै पक्षलाई एकढिक्का हुन निर्देशन

मकवानपुर । बागमती प्रदेशसभा अन्तर्गत नेपाली कांग्रेस संसदीय दलको विवाद समाधान हुन सकेको छैन । संसदीय दलका पूर्वनेता तथा पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले पूर्वसहमति पालनाको प्रतिबद्धता खोजेका छन् ।

लामाले मुख्यमन्त्री पदबाट ससर्त राजीनामा दिएका थिए । आफूले राजीनामा दिँदा राखेको सर्त कार्यान्वयन हुनुपर्ने अडानका साथ उनी पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिन काठमाडौँमै बसिरहेका छन् ।

लामासहित उनी पक्षका ९ जना सांसदले आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरेको बताइएको छ ।

नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । त्यसअघि नै आफ्ना माग सम्बोधन हुनुपर्ने पूर्वमुख्यमन्त्री लामाको भनाइ छ ।

सभापति देउवाले विश्वासको मत दिने तयारी गर्नु, सहमति पालना हुन्छ भनेर लामा पक्षका सांसदलाई पठाएको बताइएको छ।

पार्टी सभापति देउवाले दुवै पक्षलाई समस्या हल गर्न सहज दिशानिर्देश गरिसकेको बताइन्छ ।

पूर्वमुख्यमन्त्रीले उठाएका माग सम्बोधन गर्न र मुख्यमन्त्री बानियाँलाई एक ढिक्का भएर विश्वासको मत दिन पार्टीभित्रका दुवै पक्षलाई सभापति देउवाले निर्देशन दिएको बताइन्छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताए । पार्टीका सभापति लगायत शीर्ष नेतृत्वसँग बसेर मन्त्रिपरिषद् विस्तारको विषय टुङ्ग्याउने उनको भनाइ छ ।