२४ घण्टे उर्दी नमान्ने १४ कर्मचारीको हाजिरी गृह मन्त्रालयले काट्यो
काठमाडौँ । तोकिएको स्थानमा जानका लागि काटेको २४ घण्टे पत्रको अवज्ञा गरेपछि गृह मन्त्रालयले १४ कर्मचारीको हाजिरी काटेको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार उनीहरूको रजिस्टरको हाजिरी र ई–हाजिरी दुवै काटिएको हो ।
एक महिनासम्म खटाएको स्थानमा नगएपछि गृह मन्त्रालयको कर्मचारी महाशाखाले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई साउन १५ गते २४ घण्टाभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिएको थियो ।
उनीहरूको साउन २० गतेबाट दुवै हाजिरी काटिएको बताइन्छ।
मन्त्रालयको प्रशासन महाशाखाले साउन १६ गते मन्त्रालयको वेब पोर्टलमा सूची सार्वजनिक गरेको थियो ।
खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत र साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा थिए ।
ती मध्य सात शाखा अधिकृत र एक नायब सुब्बा भने तोकिएको स्थानमा गएका छन् ।
तोकिएको स्थानमा जाने शाखा अधिकृतहरूमा सुजन शुभ भ्लोन, चिरन्जीवी जिएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई र रेनुकाकुमारी पाण्डे छन् ।
एक नायब सुब्बा तोकिएको स्थानमा गएका छन् । बाँकीको हाजिरी काटिएको हो ।